नक्कली परीक्षार्थी पक्राऊ

दैलेखः दैलेखमा एसईई परीक्षामा संलग्न एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नारायण नगरपालिका –१, सदरमुकाममा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा भाइरहेको एसईई परीक्षामा एक १७ वर्षीय किशोर पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा महावु गाउँपालिका–१, गैडाबाजका प्रेम न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिए । प्रहरीका अनुसार न्यौपाने गैडाबाज माध्यमिक विद्यालय रानीवनका विद्यार्थी सुनिल प्रसाद जैसीको ठाउँमा परीक्षा दिएका थिए ।

उनि नियमित एसईई परीक्षार्थी आफ्नो भाइ नाता पर्ने सुनिलको लागि नक्कली परीक्षार्थी बनेका थिए । न्यौपाने त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी हुन् । मुखमा मास्क लगाई आएका र प्रवेश पत्रको फोटो पछि टाँसेको देखेर सोधिखोजी गर्दा पत्ता लागेको प्रहरीले जनाएको छ ।

‘त्रिभुवन माविमा एक जना नक्कली परीक्षार्थी भेटिएपछि विद्यालयले नै पत्र काटेर पठाएको छ । थप अनुसन्धान भइरहेको’ उनले भने । नक्कली परीक्षार्थी भन्ने निश्चित भएपछि प्रहरीको जिम्मा लगाइएको केन्द्राध्यक्ष निरकबहादुर तारीमाले बताए ।

मुलुकी अपराध संहिता २०७४ र राष्ट्रिय परीक्षा बोर्ड नियमावली अनुसार अरू कसैको नाममा परीक्षा दिएको पाइएमा परीक्षार्थीलाई दुई वर्षसम्म त्यो तहको परीक्षा दिन नपाउने दुई वर्षसम्म कैद हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

यस्तै, बिहिबारदेखि सञ्चालनमा आएको एसईई परीक्षामा दैलेखबाट पाँच हजार बढी विद्यार्थीले सहभागिता जनाएका    छन् । यहाँका ११ स्थानीय तहबाट पाँच हजार २ सय ५७ जना विद्यार्थीले एसईई परीक्षामा सहभागिता जनाएका हुन् । दैलेखमा २५ वटा परीक्षा केन्द्रबाट एसईई परीक्षा सञ्चालन भइरहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दैलेखका निमित्त कार्यालय प्रमुख रतन विष्टले बताए । उनका अनुसार यस वर्ष साधारणतर्फ चार हजार ८ सय ५५, प्राविधिकतर्फ एक सय ४६ र ग्रेड वृद्धितर्फ दुई सय ५६ गरी पाँच हजार २ सय ५७ जना विद्यार्थी एसईई परीक्षामा सहभागी छन् ।

एसईई दिने पाँच हजार २ सय ५७ जना विद्यार्थी मध्ये पाँच हजार १ जना नियमित तर्फका छन् भने ग्रेड वृद्धितर्फका दुई सय ५६ जना छन् । साधारणतर्फ परीक्षामा सहभागी हुनेमा छात्र दुई हजार २ सय ४६ र छात्रा दुई हजार ६ सय ९ जना रहेका छन् । प्राविधिक धारतर्फ छात्र ८३ जना र छात्रा ६३ जना छन् ।

यस वर्षको एसईई परीक्षामा ग्रेड वृद्धितर्फ छात्र एक सय ३८ जना र छात्रा एक सय १८ जनाले परीक्षामा सहभागिता जनाएका निमित्त इकाई प्रमुख विष्ट जानकारी दिए । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष २५ जना, सहायक केन्द्राध्यक्ष ३४ जना, निरीक्षक २ सय ६२ जना, परीक्षा सायक ४९ जना र कार्यालय सहयोगी १ सय ३ जना गरी चार सय ७३ कर्मचारी खटिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार